मुस्ताङको हिमपहिरोमा हराए १२० चौरी
मुस्ताङ, कात्तिक २९ : मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा हराएका छन्।कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा...
मुस्ताङ, कात्तिक २९ : मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा हराएका छन्।
कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई हराएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए।
उनका अनुसार भीम शेरचन र सकेन्द्र गौचनका ६५÷६५ वटा याक चौँरीमध्ये १०÷१२ वटा मात्र भेटिएका छन्। हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन्।
हराएका चौरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ। वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ।
हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो। बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो।
नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ।
भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्केका छन्। (रासस)









![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)

