Kathmandu Press

इक्वेडरको कारागारमा झडप, ६८ को मृत्यु

इक्वेडरको कारागारमा झडप, ६८ को मृत्यु

इक्वेडर, कात्तिक २८ : इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ। कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ। 

यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि ११९ जनाको मृत्यु भएको थियो। यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ।

Hardik ivf

अहिलेको झडप भने शुक्रवार साँझ सुरु भएको थियो। झडपलाई नियन्त्रण गर्न कारागारभित्र गएको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको थियो। 

शनिवार पनि विवाद कायम रहेपछि कारागारबाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट थप सुरक्षा दिइएको थियो। 

घटनामा परी अरु २५ जना घाइते भएका प्रहरीले जनाएको छ। घटनामा परी मृत्यु भएकाहरुको नामावली कारागारबाहिर टाँसिएको छ। मृतकहरूको सूची हेर्न कैदीका नातेदार तथा साथीहरुको भिड लागेको छ। 

कारागार भित्रको एउटा समूहका नाइके रिहा भए पछि उनको सट्टामा कस्ले नेतृत्व गर्ने भन्ने बारेमा सुरु भएको विवादले झडपको रुप लिएको हो। घटनाप्रति 

राष्ट्रपति गुलेमो लास्सोले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले अराजकताबाट फाइदा लिने समूहलाई नियन्त्रण गर्न नयाँ व्यवस्थाको आवश्यकता रहेकोमा पनि जोड दिएका छन्।
 
इक्वेडरका कारागारहरूका क्षमताभन्दा ९,००० बढी कैदीहरू रहेका अधिकारीहरूले बताउने गरेका छन्।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्