Kathmandu Press

दुई केन्द्रीय सदस्यसहित १२ जनाले त्यागे विवेकशील साझा

काठमाडौं, कात्तिक २८ : अध्यक्ष रवीन्द्र मिश्रले एकताको मर्मविपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधानविपरित कार्य अगाडि बढाएको आरोप लगाउँदै विवेकशील साझाका दुई केन्द्रीय...
दुई केन्द्रीय सदस्यसहित १२ जनाले त्यागे विवेकशील साझा

काठमाडौं, कात्तिक २८ : अध्यक्ष रवीन्द्र मिश्रले एकताको मर्मविपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधानविपरित कार्य अगाडि बढाएको आरोप लगाउँदै विवेकशील साझाका दुई केन्द्रीय सदस्य सहति १२ जनााले पार्टी परित्यागको घोषणा गरेका छन्।

आज एक संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले अध्यक्ष मिश्रको कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको बताउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्र, प्रदेश र पालिका स्तरका छन्। केन्द्रीय सदस्यहरू दीपक पौडेल र प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्यहरू अशोक खड्का, सुदिप ओझा, पदम न्यौपाने सागर घिमिरे, भीमनारायण कोइरला, युवा संगठनका केन्द्रीय सदस्यहरू मनीषा मगर र महेन्द्र आचार्य, तनहुँको व्यास नगर संयोजक सलमान अलि, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र व्यास नगर सहसंयोजक बिप्लटा ढुंगाना छन्। 
   
२०७० सालमा स्थापित विवेकशील नेपाली दल र २०७४ सालमा स्थापित साझा एकत्रित भएर एउटा सग्लो पार्टी बनेपछि पुनः दुई अलग पार्टी भएको अवस्थामा आफूहरूले  फेरि एकठाउँमा ल्याएको स्मरण उनीहरूले गरेका छन्। नेतृत्वले त्यसलाई सही दिशामा लान नसकेको आरोप उनीहरूले लगाएका छन्। ‘अलग भइसकेको पार्टीलाई एक ठाऊँमा ल्याउन हामीसँगै पार्टीका थुप्रै सदस्यहरूको अद्वितिय योगदान छ। तर के यो एकतापश्चात नेतृत्वले पार्टीलाई सही दिशामा डोर्याउन सक्यो तरु हामीलाई लाग्छ, नेतृत्वले पार्टीलाई सही दिशामा लैजान सकेन,’ विज्ञप्तिमा उल्लेख छ।

पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेकाले नेतृत्वको गलत कुरालाई मान्न कदापि तयार नरहेको उनीहरूले बताएका छन्। वैकल्पिक राजनीतिलाई विवेकशील साझा नेतृत्वले मृत्युशैय्यामा पुर्‍याइएको ठहर उनीहरूले गरेका छन्। 

‘दुई फरक पार्टीलाई एक ठाऊँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्नतर्फ लाग्नुको साटो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको मर्म विपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरित कार्य अगाडि बढाएको हाम्रो गम्भिर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइन विपरीतका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको हाम्रो बुझाइ हो।’

अध्यक्ष मिश्रको एकलौटी निर्णयहरू र लाइन विपरीतका बहसहरू देखिसकेपछि उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको ठहर उनीहरूले गरेका छन्। ‘नेतृत्वबाट पार्टीभित्रको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कसरी हुन्छ टुक्राउने भन्ने खालको अस्वाभाविक हर्कतहरू हुन थालेपछि हामीले अब उपरान्त आफ्नो समय र उmर्जा विवेकशील साझा पार्टीको लागि खर्च गर्नु बर्बादीतर्फ होमिनु हो भन्ने ठान्यौं,’ उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘आजैका दिनदेखि विवेकशील साझा पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्य समेत त्याग गरेको घोषणा गरेका छौं।’ 

यद्यपि देशको अवस्था परिवर्तन गर्न आफूहरू विभिन्न ठाउँबाट प्रयत्नशील रहिरहने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्। समाजप्रतिको उत्तरदायित्व सदैव वहन गर्ने बताउँदै उनीहरूले पार्टीमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। विश्वास गरेर निर्वाचनमा अमूल्य मत दिने र अटुट साथ दिने नागरिकसँग उनीहरूले माफी पनि मागेका छन्।
 

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्