Kathmandu Press

पश्चिम तराईमा मलको अभाव

धनगढी, कात्तिक २८ : बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका पश्चिम तराईका किसानले यतिवेला गहुँखेती गर्न मलको चरम अभावको झेल्नुपरेको छ।मल अभावका कारण...
पश्चिम तराईमा मलको अभाव

धनगढी, कात्तिक २८ : बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका पश्चिम तराईका किसानले यतिवेला गहुँखेती गर्न मलको चरम अभावको झेल्नुपरेको छ।

मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन्। वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन। पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो।

पश्चिम तराईका जिल्लामा यही कात्तिकभित्र गहुँ छरिसक्नुपर्छ। यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ। 'कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन,' धनगढी उपमहानपगरपालिका-१३ का कृषक गुलाब राना भने, 'डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ।'

मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धाइरहेका छन्। पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको मल बिक्री हुँदै आएको छ। सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डिएपी र युरिया मलको मौज्दात सकिएको छ।

मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोना भाइरसको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको कार्यालयका प्रमुख नबलसिंह बोगटीले जानकारी दिए। उनले भने, 'चौध/पन्ध्रपटक बोलपत्र आह्वान गर्दा पनि कोरोनाका कारण कसैको निवेदन नपरेको भन्ने छ, यसले गर्दा समयमै मल आपूर्ति भएन।'

भैरहवा नाकामार्फत मल धनगढीका लागि ढुवानी हुन लागेकाले केही दिनमा मल आइपुग्ने उनले बताए। “वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ, कैलालीका  किसान लोकराज ओझाले भने। मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन निकै घट्ने गरेको किसानको अनुभव छ। (रासस)

प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्