Kathmandu Press

समाजवाद पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ : मन्त्री भुसाल

ललितपुर, कात्तिक २७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त...
समाजवाद पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ : मन्त्री भुसाल

ललितपुर, कात्तिक २७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक शेयर सदस्य सम्मान समारोहमा उनले सहकारीलाई संविधानले प्रमुख आर्थिक अङ्गका रुपमा स्वीकार गरेको बताइन।

अर्थसामाजिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले संस्कृति र संस्कारलाई पनि सहकारीले पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गरिन। सामाजिक न्यायका लागि आफू राजनीतिमा आएको बताउँदै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई फाइदा पुग्नेगरी २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क ऊर्जा उपलब्ध गराएको स्पष्ट पारिन। 

उनले भनिन्, ‘बीस युनिट बाल्ने २६ लाख घरपरिवार अर्थात् एक करोड ३० लाख बढी नेपाली जनताले फाइदा पाउने गरी निर्णय लिइएको छ । जुन आधारभूत जनताका लागि राहत हुनेछ।’ विद्युत्को महशुलदर घटाएको स्वदेशी खपत बढाउने नीति लिएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन, ‘हाम्रै पानीबाट उत्पादन भएको विद्युत् प्रयोग गरौँ, डलर तिरेर ल्याएको एल्पी ग्यास प्रयोग कटौती गरौँ।’

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारी साधन नै सस्तो हुने भएकाले आगामी दिनमा त्यतातर्फ लाग्न आग्रह गर्दै उनले भनिन, ‘जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न पनि विद्युत् ने प्रयोग गर्न उपयुक्त हुन्छ।’ कार्यक्रममा सहकारीका ४० जना संस्थापक सदस्यलाई सम्मान गरिएको छ। संस्थाका अध्यक्ष कुमार गिरीले आफ्ना सदस्यलाई आधुनिक वित्तीय सेवा दिनुका साथै सामाजिक अभियान चलाउँदै आएको बताए।

प्रकाशित मिति: १९:२८ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्