प्रधान्यायाधीशलाई महाभियोग लगाउने पक्षमा एमाले छैन : टोपबहादुर रायमाझी
काठमाडौं, कात्तिक २७ : एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने पक्षमा एमाले नभएको स्पष्ट पारेका छन्। ‘उहाँमाथि...
काठमाडौं, कात्तिक २७ : एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने पक्षमा एमाले नभएको स्पष्ट पारेका छन्।
‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौं। यो पाँच दलीय गठबन्धन जो छ, यो अपवित्र गठबन्धन हो। यो सरकारका समर्थक, जसले आफूलाई न्यायमूर्तिहरु ठान्नुहुन्छ, वकिल मान्नुहुन्छ, उहाँहरुले ल्याएको विषय हो। यो बीचमा यति धेरै जात्रा गरियो नेपालमा, यो दुनियाँमा नभएको, राजनीतिक रुपमा त धेरै नै एउटा दुनियाँमा नभएको नकारात्मक नजिर कायम गरिएको छ,’ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो परमादेशबाट सरकार बनाउने, जनादेशलाई अपमान गर्ने, जनादेशलाई कदर नगर्ने, जनादेशको विरुद्धमा परमादेशबाट सरकार बनाउने काम भयो, यो दुनियाँमा नभएको काम हो।’
नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको गुनासो पोखे। उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट सरकार बनाईयो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम भयो, यो संविधानविोधी काम हो। संविधानलाई धाराशयी बनाउने काम गरियो। यो बेठिक हो। पार्टी फुटाउन अध्यादेश ल्याइयो, यो दुनियाँमा नभएका काम हो। कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम यो गठबन्धनको सरकारले गरेको छ। कार्यपालिकालाई पनि कुनै सिस्टममा चलाइएन। सत्तापक्षले विपक्षीविरुद्ध महागठबन्धन बनाउने जस्तो दुनियाँमा नभएको काम यहाँ नेपालमा भैरहेको छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गरे। उनले न्यायापालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको पनि गम्भीर आरोप लगाए। उनले भने, ‘यो सरकारको जिम्मेवारी हो। न्यायालयका कतिपय निर्णयमा हाम्रो असहमति छ, सरसर्ती हेर्दा निर्णय गर्ने सबैले जिम्मेवारी लिनुपर्छ। हामी प्रमुख प्रतिपक्षी दलको नाताले कमीकमजोरी देखाइदिने कुरा हो। ज÷जसले गलत निर्णयमा साथ थिए, जो÷जो सहभागी छन्, उनीहरु सबै कारबाहीको भागीदार हुनुपर्छ।’
त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएर मात्रै संसद्बाट पारित गरिनुपर्ने अडान सुनाए। उनले भने, ‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ। होईन भने खारेज गर्नुपर्छ।’ एमसीसीलाई लिएर सरकार अलमलिएर बसिरहेको उनको भनाइ थियो।
उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे। तर, आफूहरुको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ। उनले भने, ‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ नि, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ।’
नेता रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । उनले भन, ‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौं, विधान पनि सर्वसम्मतीले पारित गर्यौं । अब नेतृत्व चयन गरिने हो। मंसिर १० गते उद्घाटन हुन्छ। अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौं। सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ।’










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
