Kathmandu Press

भारतको मानार्थ सेनापतिको दर्जा लिएर स्वदेश फर्किए प्रधानसेनापति

भारतको मानार्थ सेनापतिको दर्जा लिएर प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिरेका छन् ।
भारतको मानार्थ सेनापतिको दर्जा लिएर स्वदेश फर्किए प्रधानसेनापति

काठमाडौं, कात्तिक २६ : भारतको मानार्थ सेनापतिको दर्जा लिएर प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिरेका छन् ।

भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २३ कात्तिकमा उनी भारत भ्रमणमा गएका थिए । नेपाल र भारतका नवनियुक्त प्रधानसेनापतिहरूलाई एकअर्का मुलुकमा मानार्थ सेनापतिको दर्जा दिने चलन छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरे । आइतबार शर्माको सम्मानमा जंगीअड्डामा सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति शर्मालाई २४ कात्तिकमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।

भ्रमण क्रममा प्रधानसेनापति शर्माले २३ कात्तिकमा भारतका भारतीय स्थल सेनाध्यक्ष नरवणे, रक्षा सचिव अजय कुमार र एयर चिफ मार्सल भीआर चौधरीसँग भेटवार्ता गरेका थिए । यस्तै, २४ कात्तिकमा भारतीय चिफ अफ डिफेन्स स्टाफ जर्नेल विपिन रावतसँग भेटेका थिए ।

यस्तै, २५ कात्तिकमा भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

भ्रमणमा उनले नयाँदिल्लीस्थित नेसनल डिफेन्स कलेजको निरीक्षण भ्रमण गरेका थिए । उनलाई कलेजको वाल अफ अनरमा इन्डक्ट गरेर सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्माले सोही कलेजबाट सन् २०१३ मा नेसनल डिफेन्स कोर्स गरेका थिए ।

 

प्रकाशित मिति: २१:२१ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्