तिहार र छठमा लाखौं मूल्यको केरा बिक्री
उदयपुर, कात्तिक २६ : तिहार र छठ पर्वमा जिल्लामा लाखौं मूल्यको केरा बिक्री भएको छ। जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो...
उदयपुर, कात्तिक २६ : तिहार र छठ पर्वमा जिल्लामा लाखौं मूल्यको केरा बिक्री भएको छ। जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ।
त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ। त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन्।
जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताउँछन्। तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै रु आठ लाखभन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउँछन्। चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौँ लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले बताए।
हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दसौं लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउँछन्। यता चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झन्डै आठ लाखको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताए।
उक्त क्षेत्रमा दसैँका समयमा पनि झण्डै रु आठ लाख बराबरको केरा बिक्री भएको चौधरी बताउँछन्। तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताए।
कोरोना सङ्क्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन सकेको थिएन। दसैँ, तिहार र छठमा केरा बिक्री भएको घिमिरेले बताए। उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो।
केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन्। जिल्लामा वार्षिक रु। २ करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ।











