Kathmandu Press

माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छ : प्रचण्ड

काठमाडौं, कात्तिक २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...
माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छ : प्रचण्ड

काठमाडौं, कात्तिक २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन। जनयुद्ध कुनै लहड थिएन।’ उनले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औंल्याए।

प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए। उनले भने, ‘किरण (मोहन वैद्य) को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ। हुने कुरा थिएन। त्यो त्यति सजिलो कुरा थिएन।’

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको  थियो। उनले अगाडि थपे, ‘छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ। अहिले कुरा पनि चलिरहेको पनि छ। एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन।’

अध्यक्षले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताए। ‘प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ,’ उनले भने।

जनता, आन्दोलन, सङ्घर्ष, बलिदानले नेतृत्व पैदा गर्ने भन्दै उहाँले सही विचार र कार्यक्रम लिएर जनतामा जाँदा माओवादी पुनः एक पटक थप विस्तारित हुने विश्वास व्यक्त गरे। कार्यक्रममा चन्द समूहका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहाललगायतका नेताले पार्टी प्रवेश गराएका थिए। 

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्