Kathmandu Press

प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन विवेकशील साझाको सल्लाह

विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदबाट राजीनामा दिन सल्लाह दिएको छ ।
प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन विवेकशील साझाको सल्लाह

काठमाडौं, कात्तिक २६ : विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदबाट राजीनामा दिन सल्लाह दिएको छ ।

उक्त पार्टीले शुक्रबार विज्ञप्तिमार्फत प्रधानन्यायाधीश जबरालाई राजीनामा गर्न सल्लाह दिएको हो ।

‘आम रूपमा विवादै विवादको घेरामा परेका र आफ्ना सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश जबराले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने विवेकशील साझा पार्टीको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनले स्वेच्छाले राजीनामा नदिने अडान कायमै राखे आयोगले प्रतिवेदन बुझाउने अवधिसम्म उनलाई बिदामा बस्ने विकल्प दिने र त्यसमा पनि सहमत नभए संसदमा रहेका दलहरूले उनीविरुद्ध अविलम्ब महाभियोगको प्रक्रिया अघि बढाउनुपर्छ ।’

सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबरालाई महाभियोग प्रस्तावबाट जोगाउन खोजेको उक्त पार्टीको आरोप छ ।

‘न्यायालयको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न मुख्य भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीश स्वयम् नै न्यायिक विचलनको मूल स्रोत बन्नु र कार्यपालिकासमेतमा हिस्सेदारी खोज्नु विधिको शासनबाट संचालित मुलुकमा कल्पनाबाहिरको विषय हो । यद्यपि, लोकतान्त्रिक पद्धति र मूल्यमाथि नै गम्भीर आँच पुग्ने गरी जबराबाट प्रदर्शित विचलन र गैरसंवैधानिक महत्त्वाकाक्षा एवं न्यायपालिकामा वर्षौँयता थुप्रिँदै गएका अधिकांश विकृतिको चाङका लागि हाम्रा प्रमुख राजनीतिक दलहरूको गैरलोकतान्त्रिक चरित्र र विकृत दोहनकारी अभ्यास पनि उत्तिकै जिम्मेवार छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘एकजना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउने छैन । तर त्यो सुधारको प्रस्थानविन्दु भने बन्न सक्छ । अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ ।’

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष पूर्वन्यायाधीश एवं वरिष्ठ अधिवक्ताहरू सदस्य रहने गरी उच्चस्तरीय आयोग गठन गर्न र उक्त आयोगले न्यायाधीश नियुक्तिको हालको प्रक्रिया र संवैधानिक व्यवस्थाको गम्भीर पुनरवलोकन गरी समग्र न्यायपालिकाको शुद्धीकरणका लागि गर्ने सिफारिस कार्यान्वयन सुनिश्चितताको इमानदार प्रतिबद्धता व्यक्त गर्न उक्त पार्टीले माग गरेको छ ।

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्