Kathmandu Press

प्रा.डा. झाका नाममा स्थापित नेपाली संस्था चीनमा अनुसन्धानका लागि छनोट

काठमाडौं, कात्तिक २६ : चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान...
प्रा.डा. झाका नाममा स्थापित नेपाली संस्था चीनमा अनुसन्धानका लागि छनोट

काठमाडौं, कात्तिक २६ : चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ। 

चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका चिनियाँ एवं विदेशी इन्स्टिच्युटका लागि गरेको खुला प्रस्तावमा सो इन्स्टिच्युट पनि छनोट भएको चिनियाँ पत्रिका साङ्सी दैनिकले जनाएको छ। 

उक्त दैनिक पत्रिकामा तीन महिनाअघि चीनभरका संस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो। सो आह्वानबमोजिम परेका आवेदनबाट २० संस्था र १० जना व्यक्ति छानिएका सो पत्रिकाले जनाएको छ।

छानिएका १० व्यक्तिमा प्रा.डा. राजीवकुमार झा पनि हुन्। उनी हाल सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापनरत छन्। चीनको साङ्सी प्रान्तीय सरकारले गरेको आह्वानमा अनुसन्धानका लागि छनोट भएको यो पहिलो विदेशी नामको संस्था हो । 

उक्त प्रान्तीय सरकारले सो प्रान्तमा विज्ञान तथा प्रविधिका क्षेत्रमा गर्न सकिने विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा यसैगरी खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक रुपमा २० संस्था र १० जना अनुसन्धानदाता छनोट गर्ने गर्दछ। 

यस वर्ष छनोट भएको सो इन्स्टिच्युट प्रा डा झाको नाममा चीन सरकारले सन् २०१५ मा स्थापना गरेको हो। सियान मेडिकल युनिभर्सिटीमा स्थापित सो इन्स्टिच्युटको पूर्वउपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका थिए। 

उक्त इन्स्टिच्युटमार्फत स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या एवं चुनौतीका साथै विशेष गरी प्यांक्रियाजमा हुने क्यान्सरको वृद्धिदर कम गर्न सकिने विषयमा अनुसन्धान गर्ने गरिएको छ।

चीनको साङ्सी प्रान्तीय सरकारले दिएको अनुसन्धानको यस अवसरबाट आफूलाई निकै खुसी लागेको प्रा.डा. झाले प्रतिक्रिया दिए। उनले यसबाट नेपालको विज्ञान प्रविधिका क्षेत्रमा गर्न सकिने कार्यकाबारेमा पनि अनुभव आदानप्रदान गर्ने बताए।

चीनका लागि नेपाली पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले एक नेपाली युवाका नाममा चीन सरकारले नै स्थापना गरेको सो संस्था र नेपाली प्राध्यापक चीन सरकारद्वारा आह्वान गरिएको यो स्तरको प्रस्तावमा छनोट हुनु नेपालका लागि गौरवको विषय भएको बताए। 

प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्