नागढुंगा–मुग्लिन सडक सुधार र विस्तार गर्न प्रक्रिया अघि बढ्यो
काठमाडौं, कात्तिक २६ : काठमाडौं उपत्यका भित्रिने÷बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा...
काठमाडौं, कात्तिक २६ : काठमाडौं उपत्यका भित्रिने÷बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो।
झन्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ। यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताए। यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ। सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो।
विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए। नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखुमा आवेदनका लागि आगामी मङ्सिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मूल्याङ्कन भइरहेको छ।
उनले भने, ‘अवधि सकिएपछि नै प्रक्रिया अघि बढाइनेछ।’ नौबिसे–नागढुंगा, नागढुङ्गाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने योजनाले जनाएको छ।
सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ। डेढदेखि दुई महिनामा गरिसकिने बताइएको छ।
सडक विभागले सोही सडकमा जोडिने मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ। यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा–मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जनाएको छ।
यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ।
तराईमा सडक विस्तार गर्नुभन्दा पहाड नै पहाड भएको स्थानमा विस्तार गर्न गाह्रो हुने प्रमुख कार्कीले बताए। पहाड नै काटेर बनाउन नसकिने हुँदा भइरहेकै सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ। उनले भने, ‘सडकमा आवश्यक संरचना निर्माण पनि सँगसँगै हुनेछ।’
सडकसँगै एउटै प्याकेजमा पुलको निर्माण र मर्मत हुँदैछ। कतिपय स्थानमा पुल बाङ्गो भएकामा त्यो हटाइने प्रमुख कार्कीले बताए। सडक सुरक्षित बनाउनकै लागि मोड सुधार गर्न लागिएको छ। दुर्घटना कम गर्नेसँगै सडक निर्माण पछि यात्रामा लाग्ने समय र खर्च घट्ने उनले बताए।
अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जनाएको छ। निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ । सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनःनिर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने प्रमुख कार्कीले बताए।
कानुनीलगायत अरु समस्या नआए ठेक्का प्रक्रिया टुंगो लागे पनि निर्माण सुरु गर्न लामो समय नलाग्ने उनको भनाइ छ। उनले भने, ‘सरासर काम भए ठेक्का खुलेको डेढ दुई महिनामा काम सुरु हुनेछ।’
यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झन्डै १० देखि ११ मिटरसम्म हुनेछ। ‘डेडिकेटेड’ दुई लेन भन्नाले चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुनेसँगै गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने उनले बताए।
नयाँ पुल निर्माणसँगै जोखिमयुक्त पुल हटाइने प्रमुख कार्कीले बताए। चार ठाउँमा रहेका पुल रेखाङ्कन परिवर्तन गरिने उनले बताए। अरु ठाउँमा भइरहेको पुल मर्मत गर्ने र सँगै अर्को पनि थपिनेछ। उनले भने, ‘पुल पनि एउटै ठेक्कामा र दुई वर्षमा सकिनेछ।’
काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी सवारी साधन बाहिरिने सडकका रूपमा रहेको यो खण्डमा सडक विस्तार भएपछि यहाँको चाप कम हुने अपेक्षा गरिएको छ। नागढुङ्गामा सुरुङ बनिसकेर यो सडक बनेपछि यात्रुलाई आवतजावत गर्न सजिलो हुनेछ। (रासस)










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
