वैद्य, बाबुराम र विप्लवलाई सम्झिँदै प्रचण्डले सुनाए हिन्दी कहावत
प्रचण्डले हिन्दी कहावतलाई नेपालीमा भावानुवाद गरे, ‘बुवा–आमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । ऊ नफर्किएसम्म बुवा–आमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’
काठमाडौं, कात्तिक २६ : मोहन वैद्य, डा. बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेको वर्षौँ बित्यो ।
यसबीच वैद्य आफ्नै नेतृत्वमा क्रान्तिकारी माओवादी पार्टी गठन गरेर सोही दलका गतिविधिमा सक्रिय छन् । डा. भट्टराई भने कम्युनिस्टले देश र जनताको मुक्ति सम्भव नभएको बताउँदै समाजवादी धार पक्रेर त्यतै क्रियाशील छन् । विप्लवले यसबीचमा भूमिगत अभ्यास पनि गरे, जो भरखरै खुला राजनीतिमा फर्केका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने तीनै नेतालाई पुनः आफूसँग एकीकृत गर्न सकिने बुझाइमा देखिन्छन् । त्यही आशा शुक्रबार उनले विप्लव समूह छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका केही नेतालाई स्वागत गर्न आयोजित समारोहमा व्यक्त गरे । र, उनीहरूलाई पार्टी प्रवेश गराएर अंकमाल गर्न चाहेको भनाइ राखे ।
हिन्दीमा एक कहावत छ, ‘सुबहका भुला अगर शामको घर आ जायें तो उसे भुला नहीं कहते ।’ अर्थात्, बिहान घर छाडेर हिँडेको मानिस साँझमा घर फर्कियो भने उसले घर बिर्सेको मानिँदैन ।
प्रचण्डले त्यही हिन्दी कहावतलाई नेपालीमा भावानुवाद गरे, ‘बुवा–आमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । ऊ नफर्किएसम्म बुवा–आमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’
विप्लव समूहबाट आएका नेता–कार्यकर्तालाई उनले सही निर्णय लिएको बताउँदै हौस्याए । र, भने, ‘तपाईंंहरूले सही निर्णय लिनुभएको छ । ब्युँझेर आउनुभयो । अरू पनि चाँडै ब्युँझिनेछन् । बाबुरामजी, किरणजी, विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ । उहाँहरूलाई अंकमाल गर्ने दिनको प्रतीक्षामा छु ।’










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
