नेपाल बारले भन्यो, ‘प्रधानन्यायाधीशकै ठाडो निर्देशनमा आक्रमण भएको हो’
बिहीबार बारले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराकै ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको जनाएको हो ।
काठमाडौं, कात्तिक २५ : नेपाल बार एशोसिएसनले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको बताएको छ ।
बिहीबार बारले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराकै ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको जनाएको हो ।
सर्वोच्च परिसरमा शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भर्त्सना गर्दै यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिएको छ ।
बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरेको छ ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
