‘कुटपिट तथा दुर्व्यवहारको उजुरीमाथि मिलापत्र गराउन दबाब’
‘उसले मलाई बिनाकारण कुटपिट मात्रै गरेन, संवेदनशील अंगमा हातपात पनि गर्यो,’ करुणा भन्छिन्, ‘मलाई हातपात गरेको अरुले पनि देखेका थिए, तर कसैले वास्ता गरेनन् ।’
काठमाडौं, कात्तिक २५ : मुगु जिल्लाको छायाँनाथ नगरपालिका–५ की एक ३४ वर्षीया करुणा सुनारले शनिबार (भाइटीका)को साँझ आफूमाथि दुई पुरुषबाट कुटपिट तथा दुव्यर्वहार भएको भनी मुगु जिल्ला प्रहरी कार्यालयमा सोमबार साँझ उजुरी दिएकी छन् ।
आफूमाथि भएको दुव्यर्वहारबारे सुरुमा परिवारलाई भन्न अप्ठेरो लागेकाले दुई दिनपछि उजुरी दिएको उनको भनाइ छ ।
‘सुरुमा घटनाबारे परिवारमा भन्न मलाई अप्ठेरो भयो, तर मेरो शरीरमा घाउचोट देखेपछि परिवारका सदस्यले सोधखोज गर्नुभयो र म प्रहरीमा गएँ,’ उनी भन्छिन्, ‘बिहानै प्रहरीमा उजुरी दिन गए पनि साँझ मात्र दर्ता गरियो । सुरुमा प्रहरीले गाउँको विवाद गाउँमै मिलाउन भनेको थियो ।’
घटना के हो ?
पीडित करुणा सुनारका अुनसार, भाइटीकाको दिन गाउँमा तिहारको रौनक थियो । स्थानीयहरू तिहारको अन्तिम दिन देउसी–भैलो खेल्दै थिए । बिहीबार दिउँसो काठमाडौं प्रेसमा फोन गरेर करुणाले भनिन्, ‘म पनि देउसी हेर्न जाँदै थिएँ । साँझ करिब ७ बजेतिर देउसी खेलेको ठाउँ पुग्दानपुुग्दै मदिराले मातिएका दुई स्थानीय युुवाले मेरो बाटो छेके, अपशब्द बोलेर जिस्क्याउन थाले । म केही नबोली अगाडि बढ्दै थिएँ, तर उनीहरुले गाली गर्दै कुुटपिट गरे ।’
उनीहरुले कुटपिट गर्दा आफूले लगाएको कुुर्था च्यातिएको करुणाको भनाइ छ । ‘उसले मलाई बिनाकारण कुटपिट मात्रै गरेन, संवेदनशील अंगमा हातपात पनि ग¥यो,’ करुणा भन्छिन्, ‘मलाई हातपात गरेको अरुले पनि देखेका थिए, तर कसैले वास्ता गरेनन् ।’
‘वडाध्यक्षले मिलापत्र गराउन दबाब दिएका छन्’
आफूमाथि कुटपिट तथा दुव्र्यवहार गर्नेलाई कारबाहीका लागि उजुरी दिन जाँदा प्रहरीलाई विभिन्न राजनीतिक दलले दबाब दिई मिलापत्र गराउन खोजेको पीडितकी बहिनी सानु सुनारले बताइन् । ‘स्थानीय तहका नेतादेखि वडाध्यक्षसम्म लागेर सुरुमा उजुरी दर्ता गर्न दिएका थिएनन्,’ सानु सुनारले बिहीबार दिउँसो टेलिफोनमा भनिन्, ‘साँझ जसोजसो मुद्दा दर्ता गरेपछि प्रहरीले दुवै आरोपी युवालाई नियन्त्रणमा लिएको छ तर विभिन्न नेताले केसलाई अगाडि नबढाउन दबाब दिएका छन् ।’
छायाँनाथ रारा नगरपालिका वडा ५ का वडाध्यक्ष डम्बरबहादुर रावलले आफ्नी आमालाई यसअघि नै एकपटक थप्पड समेत हानेको सानु सुनारले बताइन् । ‘दशैँपछि मेरो भाइको जन्मदर्ता बनाउन जाँदा विवाद भई वडाध्यक्षले मेरी आमालाई थप्पड हानेका थिए,’ उनले भनिन्, ‘वडा कार्यालयकै लापरबाहीका कारण मेरो भाइको दुुईवटा जन्मदर्ता हुन गएको थियो । त्यही कुरामा वडाध्यक्षले मेरी आमालाई आफ्नो घरबाट कार्यालयको छाप चोरेर आफैँ जन्मदर्ता बनाएको आरोप लगाएका थिए ।’
सानुले प्रश्न गर्दै थपिन्, ‘वडाध्यक्षको घरबाट कसैले छाप चोर्न सक्छ ? त्यही पनि किन चोर्नुु ? वडाध्यक्षले अहिले पनि ‘तेरो आमालाई त थप्पड हानेको हुुँ, तैंले के नै गर्न सक्छेस् र ?’ भनेका छन् । खै किन हो, उनले यो मुद्दालाई अगाडि बढ्नदेखि रोक्ने कोसिस गरेका छन्।’
यस विषयमा बुझ्न कार्यालयको वेबसाइटमा रहेको नम्बर (९८६६२३८८२६)मा सम्पर्क हुन सकेन । कार्यालयको उक्त वेबसाइटमा वडाध्यक्षको नामबाहेक कुनै जानकारी राखिएको छैन । हामीलाई प्राप्त वडा अध्यक्षकाे मोबाइल नम्बर स्वीच अफ छ ।
महिलाहरु बाटोमा हिँड्न पनि डराउने अवस्था रहेकाले घटनाको छानबिन भई दोषीलाई कारबाही गर्नुपर्ने सानु सुनार र करुणा सुनारको भनाइ छ ।
के भन्छन् डिएसपी ?
यस घटनामा उजुरी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । दुुई पक्षबीच विवाद चर्केपछि केही भीड जम्मा भएको उनको भनाइ छ । ‘पीडित महिलाले आफूमाथि हिंसा भएको भनेपछि सोही अनुुरूप मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएका छौँ, आरोपी हाम्रो निगरानीमा छन् ।’










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
