मूल्यवृद्धि फिर्ता लिन ६ विद्यार्थी संगठनको माग
काठमाडौं, कात्तिक २५ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम...
काठमाडौं, कात्तिक २५ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन ती संगठनहरूले माग गरेका छन्।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपानिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटाैंका देवेन्द्र कुँवरले ज्ञापनपत्र बुझाएका हुन्।
मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी पनि ती संगठनहरूले दिएका छन्। त्यसका लागि उनीहरूले संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन्।
जसअनुसार कात्तिक २६ गते बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने, कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डर प्रदर्शन गर्ने ती विद्यार्थी संगठनहरूले बताएका छन्।
‘नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको तथ्यप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगम लगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका वस्तुमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाएर केबल नाफा निकाल्ने उद्देश्य राखी पटकपटक मूल्य वृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छौं।’










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
