बार अध्यक्षद्वारा प्रधानन्यायाधीशको एक्लै भेट्ने प्रस्ताव अस्वीकार
काठमाडौं, कात्तिक २५ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेटका लागि खबर पठाएका छन्।कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको...
काठमाडौं, कात्तिक २५ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेटका लागि खबर पठाएका छन्।
कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै चर्को नाराबाजीसहित प्रदर्शन गरिरहेका बेला बार अध्यक्ष श्रेष्ठलाई प्रहरीमार्फत एक्लै भेट्न खबर पठाइएको थियो।
तर अध्यक्ष श्रेष्ठले भने उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्। उनले आफूले एक्लै कुनै हालतमा जबरालाई नभेट्ने बताएका छन्।
प्रधानन्यायाधीशको उक्त खबरले कानुन व्यवासायीहरू झनै आक्रोशित भएका छन्। उनीहरूले भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा पनि गरेका छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच आज झडप हुँदा बार महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन्।
कानुन व्यवसायीहरूले ‘न्यायालय सुधार गर’, ‘न्यायालयमा भ्रष्टाचार गर्न मिल्दैन’, ‘अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर’ लगायतका नारा लगाइरहेका छन्।
प्रधानन्यायाधीशको राजीनामा मागेर कात्तिक पहिलो सातादेखि कानुन व्यवसायी आन्दोलित छन्।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
