जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्वारा स्वागत
संयुक्त राष्ट्रसघ, कात्तिक २५ : संयुक्त राष्ट्रसघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ। चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना...
संयुक्त राष्ट्रसघ, कात्तिक २५ : संयुक्त राष्ट्रसघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ। चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए।
उक्त सम्झौताको संयुक्त राष्ट्रसघका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्– जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरुमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यसले विश्वमा नै सकारात्मक परिणाम दिने कुरामा म विश्वस्त छु ।
हाल सो सम्मेलनको घोषणापत्र तयार भइरहेको छ। त्यसमा भएका सहमतिहरुमा धनी देशहरूलाई गरिब राष्ट्रहरूका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ। उक्त सम्मेलनको सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यका लागि सहयोग पुग्नेगरी तयार गरिएको बताइएको छ। खासमा ती सम्झौताहरुमा अनुकूलन र आर्थिक पाटोमा केन्द्रित रहने पनि बताइएको छ।
जलवायु परिवर्तनको असर धनी राष्ट्रहरुका कारण उत्पन्न भएको भनिएको छ तर पनि गरिब राष्ट्रहरूलाई धनी राष्ट्रहरूले पर्याप्त योगदान नगरेका कारण यसको प्रभाव कम हुन नसकेको बताउने गरिएको छ।











