न्यायालयलाई विवादमा तान्नुहुँदैन : मन्त्री रेग्मी
काठमाडौं, कात्तिक २४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकता महसुस गरेरै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छन्।आज रिपोर्टर्स...
काठमाडौं, कात्तिक २४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकता महसुस गरेरै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छन्।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनिन्, ‘यो सरकार अहिले गठबन्धनको सरकार हो। हिजो नेकपाको दुई तिहाईको सरकार थिया। नेतृत्वले त्यो सरकारलाई थाम्न सकेन। आफ्नै पार्टीभित्रको विग्रहको कारणले नेकपाको सरकार ढलेको हो, र आज हाम्रो सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्न पुगेको हो।’
उनले गठबन्धन सरकारभित्र फेरि कुनै विग्रह नहोस भनेर नै सबै कुरा सहमति र समझदारीअनुसार गर्न समन्वय समिति गठन गरिएको स्पष्ट पारिन्। उनले भनिन्, ‘हरेक कुरा सेयरिङ गरेर पारदर्शी रुपमा जान सक्यो भने, ‘यो गठबन्धनलाई मजबुद पारेर लैजानको लागि र कतै मिसअन्डरस्ट्यान्डिङ नहोस् भनेर समन्वय समिति बनाईएको हो। गठबन्धन निर्वाचनसम्म सही किसिमले अघि बढाउनको लागि यो समिति आएको हो।’
मन्त्री रेग्मीले न्यायालयलाई एकदम स्वतन्त्र र स्वच्छ रुपमा लैजानुपर्ने पनि बताइन्। उनले न्यायालयलाई विवादमा तान्न नहुने जिकिर गरिन्। उनले भनिन्, ‘अदालतलाई विवादमा तान्नु हुँदैन। मुलुकमा अराजकता हुन्छ। यसमा धेरै हल्ला गर्ने कुरा छैन। सरकारले प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउलाजस्तो मलाई लाग्दैन। न्यायालयको विषयमा आग्रह र पूर्वाग्रह गर्नुहुँदैन।’ उनले वर्तमान सरकारले प्रभावकारी रुपमा काम गरिरहेको सुनाइन्।
उनले भनिन्, ‘सरकारको प्रभावकारिता राम्रो छ। विगतको ओलीको सरकारले यो राम्रो काम गरेको थियो भनेर अहिले भन्ने अवस्था छैन। सरकार अहिले सुझबुझका साथ अघि बढेको छ। अहिले पनि हरेक कुरामा सुझबुझ राखेर अघि बढेको छ। सबैको बीचमा समझदारी भएर जान सकोस भनेर अगाडि बढिरहेको छ। महत्वपूर्ण कामहरु गर्न सुरु गरेको छ। कोभिडको सवालमा पनि धेरै फड्को मारेको छ। अब पनि ६० लाखभन्दा बढि खोप ल्याउने सम्झौता भएको छ। जनताको जीउ ध्यानको सुरक्षा गर्न सरकारको कर्तव्य हो। त्यहीअनुसार काम गरिरहेको छ।’
उनले वर्तमान सरकारले खोपलाई प्राथमिकता दिएको र प्रधानमन्त्री देउवाले पनि प्रधानमन्त्री हुनेबित्तिकै आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ भनेको स्मरण गराइन्। उनले पार्टीको आगामी महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवा पूनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको पनि बताइन्।
उनले भनिन्, ‘उहाँ फेरि सभापतिमा उठ्नुहुन्छ। अरुले पनि प्रतिस्पर्धा गर्न पाइन्छ तर उहाँ सभापति हुनुहुन्छ। उम्मेदवारी उहाँले दिनुहुन्छ। सभापति त मेची–महाकालीका प्रतिनिधिले छान्ने कुरा हो। राजनीति खेलमा कसैले छोड भन्दैमा छोड्ने कुरा हुँदैन। कांग्रेस भोटमा विश्वास गर्ने पार्टी हो। डेलिगेट्सले भोलि देउवालाई बहुमत दिएपछि कसैले पनि विरोध गर्न मिल्दैन। निर्वाध रुपमा काम गर्ने वातावरण हुनुपर्छ। अहिले यसो हेर्दा उहाँले जित्ने वातावरण देखिन्छ। उहाँलाई नै धेरै विश्वास गर्ने देखिएको छ।’
उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बन्यो भने राम्रो हुने पनि प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘उहाँहरु मिलेर जानुभयो भने राम्रो हुन्छ। म त मिल्न पनि आग्रह गर्छु। यो महाधिवेशन उहाँहरुको अन्तिम हो, उहाँहरु मिल्नुभयो भने पार्टीमा नयाँ उर्जा आउने थियो। नयाँ दिशामा जाने थियो।’
मन्त्री रेग्मीले एमसीसी प्रधानमन्त्री देउवाले पारित गरेर मात्रै नहुने भन्दै गठबन्धन र प्रतिपक्षी दल सबैको सरसल्लाह र सहमतिले पास हुने कुरा भएको बताईन्। उनले भनिन्,‘यो विषयमा सबैसँग सरसल्लाह र सहमति हुन्छ। त्यसले निश्कर्ष निकाल्छ।’
उनले गणेशमान सिंहको १०७औं जन्मजयन्ती भएको उल्लेख गर्दै सिंहले देखाएको बाटोमा हिँडन सकेको भए मुलुकमा अहिलेको जस्तो बेथिति आउने थिएन भन्ने धारणा राखिन्।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
