Kathmandu Press

सुकीको पार्टीका नेताहरुलाई सुनाइयो ७५ देखि ९० वर्षको जेल सजाय

काठमाडौं, कात्तिक २४ : म्यानमारको अदालतले नेतृ आङ सान सुकीको राजनीतिक दलका दुई नेतालाई ९० तथा ७५ वर्षको जेल सजाय सुनाएको छ। भ्रष्टाचारको मुद्दामा...
सुकीको पार्टीका नेताहरुलाई सुनाइयो ७५ देखि ९० वर्षको जेल सजाय

काठमाडौं, कात्तिक २४ : म्यानमारको अदालतले नेतृ आङ सान सुकीको राजनीतिक दलका दुई नेतालाई ९० तथा ७५ वर्षको जेल सजाय सुनाएको छ। भ्रष्टाचारको मुद्दामा दोषी देखिएपछि उनीहरुलाई सो सजाय सुनाइएको हो।

म्यानमारमा सेनाले कब्जा गरेयता सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका नेताहरुलाई दिइएको यो सबैभन्दा कठोर सजाय हो। म्यानमारको सेनाले गत १ फेब्रुअरीमा म्यानमारको शासन आफ्नो कब्जामा लिएको थियो।

पूर्व कायिन राज्यका योजना मन्त्री थान नाइङलाई भ्रष्टाचारका ६ वटा मुद्दामा दोषी पाएपछि मंगलबार अदालतले अनिवार्य श्रमसहित ९० वर्षको कारावासको सजाय दिएको वकिल ज मिन ह्लाइङले बताएका छन्।

यस्तै, कायिन राज्यकै पूर्वमुख्यमन्त्री नान खिन ह्त्वे मिन्टलाई भ्रष्टाचारका विभिन्न पाँचवटा मुद्दामा १५ वर्षका दरले कुल ७५ वर्षको जेल सजाय दिइएको पनि ह्लाइङले बताएका छन्। ६७ वर्षीय मिन्ट सुकीको पार्टीका शीर्ष नेतासमेत हुन्।

हाल सुकीविरुद्ध पनि भ्रष्टाचारलगायत अन्य अपराधका मुद्दाहरु अदालतमा विचाराधिन अवस्थामा छन्। सुकीका समर्थकहरुले भने सुकीलाई लगाइएका मुद्दाहरु सेनाले आफ्नो शासन कब्जालाई वैधानिकता दिनका लागि उनीमाथि थोपरेको मनगढन्ते आरोप रहेको बताउँदै आएका छन्।

सेनाले गठन गरेको सरकारले सन् २०२३ मा म्यानमारमा आमनिर्वाचन गर्ने प्रतिबद्धता गरेको छ। यदि सुकीमाथि लागेका कुनैपनि मुद्दामा उनी दोषी देखिएमा उनले सो निर्वाचनमा उम्मेद्वारी दिन पाउने छैनन्।
 

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्