बीस महिनापछि खुल्याे अमेरिकी सीमा क्षेत्र
वासिङटन, कात्तिक २४ : कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले गत सोमबारबाट आफ्नो सीमा क्षेत्र खुलेको छ।बीस महिना लामो आवागमन प्रतिबन्ध...
वासिङटन, कात्तिक २४ : कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले गत सोमबारबाट आफ्नो सीमा क्षेत्र खुलेको छ।
बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गरेको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए।
ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देश अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन। यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो।
नयाँ नियमसँगै विमानसेवाहरुले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन्। आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन्।
युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ। डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरु पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।
अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइएको छ।
कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो।











