Kathmandu Press

धनकुटामा मंसिर ४ र ५ गते एभोकाडो महोत्सव हुने

धनकुटा, कात्तिक १४ : धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ। एभोकाडो उत्पादनका लागि धनकुटालाई अग्रणी  जिल्ला मानिन्छ।धनकुटा एभोकाडो...
धनकुटामा मंसिर ४ र ५ गते एभोकाडो महोत्सव हुने

धनकुटा, कात्तिक १४ : धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ। एभोकाडो उत्पादनका लागि धनकुटालाई अग्रणी  जिल्ला मानिन्छ।

धनकुटा एभोकाडो कृषक समूहले पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो।

महोत्सवको सहआयोजकका रूपमा धनकुटा नगरपालिका रहेको छ। महोत्सवमा ५० वटा स्टल रहने बताइएको छ। धनकुटा बजारको एभोकाडो स्तम्भ भएको स्थानमा महोत्सव हुनेछ।

पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् भने दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाबीच एभोकाडोको प्रवर्धनबारे अन्तरक्रिया हुने आयोजक समूहका अध्यक्ष खेमराज थापाले बताए।

कार्यक्रममा धनकुटाका नगर प्रमुख चिन्तन तामाङले एभोकाडो प्रवर्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

२०७५ सालमा धनकुटा नगरपालिकाले आफ्नो नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो। हाल धनकुटामा एभोकाडोको मूल्य किलोको १५० देखि २५० रुपैयाँसम्म किनबेच हुने गरेको छ।

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्