नोबेल पुरस्कार विजेता मलालाले गरिन् विवाह
लण्डन, कात्तिक २४ : नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छन्। छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली...
लण्डन, कात्तिक २४ : नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छन्।
छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गरेकी हुन्।
उनले आफ्नो वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छन्।
तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उनी अहिले बेलायतमा बस्दै आएकाले बेलायतमा वैवाहिक कार्यक्रम भएको हो। सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सवैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छन्।
‘मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ। उनले अहिले निकाह गरेकी हुन्। यसको कानुनी हैसियत भने रहदैन। महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।
पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए।
त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाइन्। उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरु मध्ये सबैभन्दा कान्छी हुन् ।
उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छन् भने विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाएकी छन्।











