Kathmandu Press

आज छठ पर्व, देशभर धुमधामसँग मनाइँदै

महोत्तरी, कात्तिक २४ : महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ।पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन्।...
आज छठ पर्व, देशभर धुमधामसँग मनाइँदै

महोत्तरी, कात्तिक २४ : महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ।

पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन्। आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ भन्ने गरिन्छ। मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ।

यसअघि बर्तालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्। श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन्। खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन्।

बर्तालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि  छठपर्व विधिवतरूपमा समापन हुनेछ। व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ भनिन्छ।

यसअघि गत आइतबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबा अरबाइन’, सोमबार पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ र हिजो मङ्गलबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै  बनिसकेको छ। सङ्घीय राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ पूजा गरिन थालिएको छ।

पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्वमात्र नभएर अन्य धेरै चाडवाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन्। (रासस)

प्रकाशित मिति: ०७:५३ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्