Kathmandu Press

डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार वितरण

डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार वितरण

डोल्पा, कात्तिक २३ : त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ। वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो।

कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढाका रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, वल्बलगायत सामान निःशुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले जानकारी दिए। डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षात्का समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको उनको भनाइ छ।

‘जाजरकोटसम्म ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीचबीचमा नदी र खोलामा पुल छैनन्। दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दा  ढुवानीमा घाटा व्यहोर्नुप¥यो।’ उनले गुनासो गरे।

दैनिक घण्टौँ लोडसेडिङको मारले अध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिकले सोलार पाएपछि खुसी छन्।

सबैले पाएनन् सोलार 

नगरपालिकाका एक हजार ७०० घरधुरीले सोलारको लागि आवेदन दिएका थिए। माग गरेजति सबै सोलार नपाएपछि आवेदन दिएका सबै घरधुरीले सोलार नपाएको नगरपालिकाले जनाएको छ। ‘सुरुमा १०० रुपैयाँ र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुसी थियौँ। अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो।’, त्रिपुरासुन्दरी –१ का प्रेम शाहीले भने, ‘गरिब विपन्नकालागि सोलार भनिएको थियो। कतिपय हुने खाने र नेता र जनप्रतिनिधिले नै सोलार पाए, वास्तविक विपन्न पनि छुटेका छन्।’

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्