कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त
सुर्खेत, साउन ३१ : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन्।
बैंकिङ कसुरमा उच्च अदालत पाटनल....
सुर्खेत, साउन ३१ : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन्।
बैंकिङ कसुरमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई मन्त्रीबाट बर्खास्त गरेका हुन्।
कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भएर आएपछि मन्त्री खत्रीलाई पक्राउ गरेर तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको थियो।
बैंकिङ कसुरमा पक्राउ पूर्जी जारी भएपछि पनि खत्रीले मन्त्री पदबाट राजीनामा दिन मानेका थिएनन्। राजीनामा दिन अटेरी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार साँझ पदबाट बर्खास्त गरेका हुन्।
मुलुक संघीय संरचनामा गएपछि खत्री बर्खास्तीमा पर्ने पहिलो मन्त्री बनेका छन्। बैंकिङ कसुरको मुद्दामा यसअघि नै छविलाल ढकाल, रणवीर तुम्बा र देवजंग शाही पक्राउ परिसकेका छन्। खत्री र राजुप्रसाद श्रेष्ठ भने अझै फरारको सूचीमा छन्।
केएसके नामक कन्स्ट्रक्सन कम्पनीका मालिकसमेत रहेका खत्रीले सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्सानी पुर्याएको कृषि विकास बैंकको दाबी छ।