Kathmandu Press

बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा समेटेर प्रधानन्यायाधीश जबराले तोके १० इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरू पनि समेटेर मंगलबारका लागि १० वटा इजलास तोकेका छन् ।
बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा समेटेर प्रधानन्यायाधीश जबराले तोके १० इजलास

काठमाडौं, कात्तिक २३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरू पनि समेटेर मंगलबारका लागि १० वटा इजलास तोकेका छन् ।

मंगलबारका लागि दुई सय ९८ वटा मुद्दाको पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको पक्षमा रहेका न्यायाधीशहरू भने इजलासमा बस्ने–नबस्ने निश्चित छैन ।

मंगलबारका लागि नौवटा संयुक्त इजलास तोकिएको छ भने एउटा प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलास पनि तोकेका छन् । न्यायाधीशद्वय सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा ५४ वटा मुद्दाको पेशी तोकिएको छ ।

यस्तै, न्यायाधीशहरू मीरा खड्का र कुमार रेग्मीको इजलासमा ४८, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा ४४, तेजबहादुर केसी र मनोजकुमार श्रेष्ठको इजलासमा ३६, अनिलकुमार सिन्हा र प्रकाशमान सिंहको इजलासमा ३२, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासमा २८, दीपकुमार कार्की र नहकुल सुवेदीको इजलासमा २६, हरिकृष्ण श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा २२ वटा मुद्दाको पेशी तोकिएको छ ।

यसैगरी, आफ्नो एकल पूर्ण इजलासमा प्रधानन्यायाधीश जबराले सातवटा मुद्दाको पेशी तोकेका छन् । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासमा एउटा मुद्दाको पेशी तोकिएको छ । मंगलबारका लागि बन्दी प्रत्यक्षीकरणका कुनै मुद्दाको पेशी तोकिएको छैन । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ गर्ने अडान लिँदै आएका छन् ।

प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्