प्रधानसेनापति शर्मा भारत भ्रमणमा
काठमाडौं, कात्तिक २३ : प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान...काठमाडौं, कात्तिक २३ : प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।
मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा गएका हुन्।
प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिने भएको छ। उनलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ। नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिएको थियो।
प्रधानसेनापति शर्माले भारत भ्रमणका क्रममा समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।











