निर्मला कुर्मी बेपत्ता र नकुन्नी धोबी मृत्यु प्रकरण अनुसन्धानका लागि सातजना पक्राउ
बाँके नेपालगञ्ज उपमहानगर-१७ की निर्मला कुर्मीलाई बेपत्ता बनाइएको र बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरण अनुसन्धान गर्न प्रहरीले सोमबार सातजनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, कात्तिक २२ : बाँके नेपालगञ्ज उपमहानगर–१७ की निर्मला कुर्मीलाई बेपत्ता बनाइएको र बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरण अनुसन्धान गर्न प्रहरीले सोमबार सातजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । २५ माघ ०७५ रातिदेखि कुर्मी बेपत्ता छिन् । अपहरणपछि उनको हत्या गरिएको परिवारजनले बताउँदै आएका छन् ।
पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन् । उनीहरू माथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद लिएको छ ।
निर्मला बेपत्ता तथा नकुन्नी धोबी मृत्यु प्रकरण छानविन गर्न माग गर्दै नेपालगञ्जबाट २० दिनको पैदल यात्राबाट आएका महिलाहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका थिए ।
उक्त आन्दोलनपछि सरकारले गृहमन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानविन समित गठन गरेको थियो । समितिले १५ कात्तिकमा गृहमन्त्री बालकृषण खाणलाई प्रतिवेदन बुझाएको थियो ।











