वागमतीका मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरे विश्वासको मत प्रस्ताव
उनी ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । १० कात्तिकमा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
काठमाडौं, कात्तिक २२ : वागमती प्रदेशका मुख्यमन्त्री आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेश गरेका छन् ।
उनी ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । १० कात्तिकमा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
२५ भदौमा एमाले प्रदेशसभा संसदीय दल विभाजनपछि तत्कालीन मुख्यमन्त्री शाक्यले बहुमत गुमाएकी थिइन् ।
प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री पाण्डेले आफ्नो सरकारको प्राथमिकतामा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने तथा विकास निर्माणलाई अगाडि बढाउने रहेको बताए ।
मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र जसपाका ५९ सांसदको समर्थन छ । विवेकशील साझा पार्टीले विपक्षमा मत हाल्ने बताएको छ । स्वाभाविक छ, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई एमालेले विपक्षमा मतदान गर्नेछ । राप्रपा र नेमकिपाको पनि उनलाई समर्थन छैन ।
वागमती प्रदेशसभामा एकीकृत समाजवादीका १३, एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझाका तीन, नेमकिपा दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन् ।











