Kathmandu Press

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगियो

रसुवा, कात्तिक २२ : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले...
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगियो

रसुवा, कात्तिक २२ : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो। 

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ। रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन।

विवाद टुङ्गिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या ३ हजार ८५७ पुगेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एकदुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गोमा पुग्ने बताए। 

रौतहट क्षेत्र नं. २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं. १ को भने टुङ्गिन बाँकी रहेको कांग्रेसले जनाएको छ। रौतहटको तीनवटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंङ्गएसँगै देशभरका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको हो। 

कांग्रेसले पछिल्लो समय सदस्यता विवाद टुङ्गोमा पुर्‍याएको जिल्लाको अधिवेशन सम्पन्न गर्न कार्यतालिका समेत प्रकाशित गरिसकेको छ भने सोही जिल्लामा निर्वाचन अधिकृत समेत खटाइसकेको छ। कांग्रेसले १४औं महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्दैछ। 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्