एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने
काठमाडौं, कात्तिक २२ : एमालेको आगामी दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्य मात्र सहभागी हुने भएका छन्। पार्टी अध्यक्ष केपी...
काठमाडौं, कात्तिक २२ : एमालेको आगामी दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्य मात्र सहभागी हुने भएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ। ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन्।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी सङ्गठित सदस्य थिए। अहिले नौ लाख सङ्गठित सदस्य पुगेको उनको भनाइ छ।
महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन्। एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १ हजार २ सय पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८ सयसम्मले थप एकएकजना प्रतिनिधि निर्वाचित गर्नेछ।
जनवर्गीय सङ्गठनबाट पाँचजनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन्। एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दैछ। प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ।
एमाले महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ। महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ।











