सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा
फ्रिटाउन, कात्तिक २२ : सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ।राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गरेका हुन्। यही सोमबार,...
फ्रिटाउन, कात्तिक २२ : सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ।
राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गरेका हुन्। यही सोमबार, मंगलबार र बुधबार देशभरि शोक मनाइने भएको छ। गत शनिबार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १ सय ८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो। शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाबारे जानकारी लिएका छन्। अस्पतालमा उपचार भइरहेका मध्ये अधिकांशको शरिरका धेरै भाग जलेका छन्। उनले घटनाबारे निषपक्ष छानबिन गरी दोषीलाइ कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
‘हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नुपर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनुपर्ने उपाय अपनाउनुपर्छ,’ उनले भने। अर्को एउटा सवारीसाधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन्।
शनिबार बिहान किनबेचका लागि सयौं मानिसको भिड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुको अनुमान छ।











