गुम्बाको धुरीबाट आगोको राप कटाउँदै सकियो फुटुक पर्व
सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुने सो समुदायको विश्वास रहिआएको छ ।
ताप्लेजुङ, कात्तिक २२ : सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुने सो समुदायको विश्वास रहिआएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र सो पर्व मनाइन्छ । गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने सो समुदायले धुमधामका साथ मनाएका हुन् ।
परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा देश विदेशमा रहेका वालुङ समुदायका आफ्ना आफन्त फुटुक पर्व मनाउन ओलाङचुङगोलामा आएका थिए । पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिस जम्मा भएका थिए ।
पर्व अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरिन्छ । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिए ।
यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्छन् । यस्तै, लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्छन् । लामाको नृत्य हेर्न र आशीर्वाद लिन स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बानजिकै पाल टाँगेर बसेको शेर्पाले बताए । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयवासीको भनाइ छ ।
फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने चलन छ । पर्वको समयमा सीमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउँछन् । ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेष रूपमा मनाइँदै आएको स्थानीयवासीको भनाइ छ ।
चीन र नेपालको सीमानजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस बस्तीमा वालुङ समुदायका ५२ घरधुरी छन् । नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्छ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला पर्छ ।











