भाइटीकाको दक्षिणा अनाथ आश्रमलाई
भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साट्ने चलन हुन्छ तर उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथ आश्रमलाई सहयोग गरेका हुन् । अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन् ।
बाजुरा, कात्तिक २२ : समाज व्यक्तिकेन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरूका लागि सोच्नेको संख्यामा पनि कमी छैन । यहाँका पाँच दिदीबहिनी कुसुम, सविता, पूजा, लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् ।
भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साट्ने चलन हुन्छ तर उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथ आश्रमलाई सहयोग गरेका हुन् । अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन् ।
आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदीबहिनीबाट प्राप्त रकम संस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गरे । रकम थोरै भए पनि आफूहरूको खुशी सहाराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले बताइन् । मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको संस्थाका अध्यक्ष थापाले बताए ।