मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
हेटौंडा, कात्तिक २२ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।यसका लागि आज दिउसो ३ बजे प्रदेश...
हेटौंडा, कात्तिक २२ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
यसका लागि आज दिउसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
यो धारामा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्य मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ।
उनी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यहिअनुसार, उनले आज विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र आएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए। त्यसका लािग सबै तयारी गरिएको उनले जानकारी दिए।
त्यस्तै, प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनाल शर्माले आज विश्वासको मत लिन लागिएको बताए। पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए।
११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। विश्वासको मतका लागि ५५ सांसद आवश्यक पर्छ। उनको पक्षमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का गरी ५९ सांसद छन्।











