Kathmandu Press

गोकर्णेश्वरमा सुनको छाना लेपन चार वर्षदेखि अलपत्र

२०७४ सालमा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी सुरु भएको काम अझै पूरा हुन सकेको छैन।
गोकर्णेश्वरमा सुनको छाना लेपन चार वर्षदेखि अलपत्र

काठमाडौं, कात्तिक २१ : राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ ।

२०७४ सालमा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी सुरु भएको काम अझै पूरा हुन सकेको छैन । २३ फागुन–२ चैत ०७४ मा यही प्रयोजनका लागि मन्दिर प्रांगणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर तीन करोड रुपैयाँ बचेको थियो । झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण यो मन्दिरका काष्ठकला, मन्दिरको गारो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान सुरु भएको हो । 

प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरिसकिएको छ । माथिका दुई तला साना छन् । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर दुई वर्ष अघिदेखि अलपत्र छ । काम अघि बढ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ पहिले बजेट अभाव भएर काम रोकिएको स्वीकार्छन् । अहिले बजेट व्यवस्थापन भए पनि जनशक्ति अभावका कारण काम ढिलाइ भएको छ ।

‘हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान छ । पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ,’ उनले भने, ‘त्यसकै लागि पनि सहयोग जुटाउन नसकेर केही ढिलाइ भएको हो, अब बजेट व्यवस्थापन भएकाले काम हुन्छ ।’

अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि गत आर्थिक वर्षका लािग नगरपालिकाले तीन करोड विनियोजन गरे पनि काम हुन सकेन । नगरपालिकाले आव ०७५–७६ मा पनि एक करोड विनियोजन गरेको थियो । आव ०७६–७७ मा विनियोजित तीन करोड परिषद् नबसेको बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउँछन् । महायज्ञकै क्रममा २२ तोला सुन सहयोगस्वरूप संकलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर ३९ लाख रुपैयाँ आम्दानी भएको थियो ।

२२ असार ०७५ मै झल्लर, कुटा, ख्वापालगायत मन्दिरका संरचना बनाउन सुरु गरिएको थियो । त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न नै सुरु भएको थियो । काम सुरु भएको चार वर्ष हुन लाग्दासमेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ । कोरोनाको महामारी सुरु भएदेखि राम्रोसँग काम अघि बढ्न सकेको छैन । केही दिन काम भए पनि फेरि रोकिने गरेको छ ।

नगरपालिका प्रमुख सन्तोष चालिसे भने बजेट अभावका कारण नभई तामाको पातामा सुनको लेप लगाउने काम संवेदनशील भएकाले ढिला भएको बताउँछन् । पाटनका कामदारले मात्र यो काम गर्ने भएकाले उनीहरूको समय नमिलेर पनि काममा ढिलाइ भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्