भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्दै एरो थाई
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाईले अनुमति पाएको छ ।
काठमाडौं, कात्तिक २१ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाईले अनुमति पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वसम्झौता अनुरूप एरो थाईलाई क्लालिब्रेसन फ्लाइट गर्न अनुमति दिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेसन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान र अवतरण गर्नुपर्छ ।
एरो थाइले क्लालिब्रेसन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए । उनका अनुसार एक महिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ ।
एरो थाई थाइल्यान्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउँछ । आगामी २२ नोभेम्बरमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्यालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक साता अवधिको हुनेछ । रासस
कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उदघाटन गर्ने भनिएको उक्त विमानस्थल केही विलम्ब भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम प्राधिकरणले क्यालिब्रसन फ्लाइटको टुंगो लगाएको हो ।
महानिर्देशक क्षत्रीका अनुसार भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री ल्याउन नसक्दा आयोजना सम्पन्न गर्न ढिलाइ भएको छ । स्थानीय तहसँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो कोभिड–१९ महामारीका कारण आयोजना प्रभावित बनेको उनले बताए ।
क्यालिब्रेसन फ्लाइटका लागि विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले पनि आयोजना ढिलो भएको उनले बताए ।
परीक्षण उडानपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि आह्वान गर्ने तयारीमा प्राधिकरण छ । पाँच महिनाभित्रमा अन्तर्राष्ट्रिय उडान थाल्ने प्राधिकरणको योजना छ ।











