बैतडी कांग्रेसको नाममा नक्कली फेसबुक, प्रयोगकर्तामाथि कारवाही माग
नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आईडी बनाइएको आरोप लगाउँदै पार्टी जिल्ला समितिले आपत्ति जनाएको छ ।
बैतडी, कात्तिक २१ : नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आईडी बनाइएको आरोप लगाउँदै पार्टी जिल्ला समितिले आपत्ति जनाएको छ ।
उक्त आईडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरेका चन्दको नाममा केही समयदेखि उक्त आईडीबाट चरित्र हत्या गर्ने किसिमका बेहोरा पोस्ट भइरहेकाले कारवाहीको माग गरिएको हो ।
केही महिनायता अनधिकृत रूपमा फेसबुक आईडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएकोे भन्दै सभापति नरेन्द्रसिंह थापाले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।
अनधिकृत रूपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसँग कांग्रेसले प्रक्रिया अघि बढाइसकेको विज्ञप्तिमा उल्लेख छ । आगामी महाधिवेशनका लागि उपसभापति चन्द र पूर्वसभापति शिवराज भट्टको नेतृत्वमा छुटृाछुटृै समूह घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ ।
सभापतिका उम्मेदवार चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उनीविरुद्ध अनधिकृत रूपमा फेसबुक आईडी र पेज प्रयोग गरेको हुनसक्ने आशंका छ ।











