किसानलाई अनुदानमा आलुको बीउ
रम्भा गाउँपालिकाले आलुखेती प्रवर्द्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ ।पाल्पा, कात्तिक २१ : रम्भा गाउँपालिकाले आलुखेती प्रवर्द्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ ।
गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यस वर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका किसानलाई वितरण गरिएको हो ।
आलु खेतीलाई व्यावसायीकरण र किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गाउँपालिकाले अघिल्ला वर्षमा पनि अनुदानमा बीउ वितरण गरेकामा यस वर्ष वडा नं १ मा १४ क्विन्टल, २ मा ६५ क्विन्टल, ३ मा ९७ क्विन्टल, वडा नं ४ मा ६५ क्विन्टल र ५ मा ९५ क्विन्टल बीउ आलु उपलब्ध गराएको छ ।
पीपलडाँडा, हुँगीलगायत गाउँ आलु उत्पादनको पकेट क्षेत्र मानिन्छन् । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा पनि किसानले आलुखेती गरेका छन् । गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि यहाँका किसान आलुखेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।