Kathmandu Press

दुर्घटना र अपराध न्यूनीकरणका लागि भारतीय सवारी साधनको तथ्यांक संकलन

प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्यांक संकलन गर्ने भएको छ ।
दुर्घटना र अपराध न्यूनीकरणका लागि भारतीय सवारी साधनको तथ्यांक संकलन

सर्लाही, कात्तिक २१ : प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्यांक संकलन गर्ने भएको छ ।

सवारी दुर्घटना तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्यांक संकलन गर्न लागेकोे जिल्ला प्रहरीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण संकलन गरी त्यस्ता सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ भन्ने विवरण राखिने छ । यस्तै, उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ । घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर संगठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना संकलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको एसपी कृष्ण प्रसाईंले बताए ।

उनका अनुसार अनौपचारिक पोशाकमा कार्यरत प्रहरीले आचारणविपरीत काम गर्दै संगठनकै बदनाम गराउन थालेकाले हटाइएको हो । ‘जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरूलाई हटाइसकेको छु । अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।’

स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको एसपी प्रसाईंले बताए । उनका अनुसार यसअघि अनौपचारिक रूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित ड्युटीमा लगाइसकिएको छ ।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्