प्रहरी छांगरु झर्यो, तिंकर नाका सुरक्षाविहीन
दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।
दार्चुला, कात्तिक २१ : दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।
स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकमा तैनाथ प्रहरी छांगरु झरेको जिल्ला प्रहरीका डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मंसिर पहिलो साता मात्रै सदरमुकाम खलंगामा बसाइँसराइ (कुञ्चा)सर्ने तयारीमा रहेको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । ‘बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ति दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो,’ उनले भने ।
तिंकरमा रहेका प्रहरी जाडोयाममा बर्सेनि नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माणाधीन छ । तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)को भवन यस वर्ष निर्माण भएको छ । तर सशस्त्र प्रहरी त्यस भवनमा सरेको छैन । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधासम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन् ।
छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म स्थापित छ । गुल्मका लागि गत वर्षदेखि भवन निर्माण सुरु भए पनि अधुरै छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गर्दै आएको छ । यहाँका बासिन्दा ६ महिना चिसो छल्न सदरमुकाम खलंगा र ६ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँ सर्छन् ।











