Kathmandu Press

तिहार सकिनासाथ छठको तयारीमा मिथिला

दीपावली सकिएसँगै तराई मधेसवासी छठ पूजाका सामग्री किनमेलमा निस्केका छन् । जनकपुरधामसहित तराई मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।
तिहार सकिनासाथ छठको तयारीमा मिथिला
फाइल तस्बिर

जनकपुरधाम, कात्तिक २१ : मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ ।

दीपावली सकिएसँगै तराई मधेसवासी छठ पूजाका सामग्री किनमेलमा निस्केका छन् । जनकपुरधामसहित तराई मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिदसमेत गरिन्छ ।

अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।

जनकपुरका गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अंगराजसर, दशरथ तलाउलगायत पोखरीमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिंगार्न जुटेका छन् ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति: १०:१६ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्