Kathmandu Press

च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

म्याग्दी, कात्तिक २१ : मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।यस वर्ष च्यांग्राको भाउ बढेको छ। दशैं...
च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

म्याग्दी, कात्तिक २१ : मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।

यस वर्ष च्यांग्राको भाउ बढेको छ। दशैं र तिहारमा १० हजार च्यांग्रा निकासी गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दशैंमा सात हजार र तिहारमा तीन हजार च्याङग्रा निकासी भएको बताए। मोटामोटी १० हजार च्यांग्राको करीब ३५ करोड भित्रिएको उनको भनाइ छ।

यस वर्ष स्वास्थ्य परीक्षण गरेर च्यांग्रा निकासी गरिएको थियो। त्यसका आधारमा १० हजार च्याङग्रा बाहिरिएको तथ्यांक रहेको उनले जानकारी दिए। तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा ब्यापार घटेको छ।

विगतका वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएका थिए। यो वर्ष निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै रहेको उनले बताए।

पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रति च्यांग्राको रु. १५ शूल्क तिर्नुपर्छ। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको थियो।

केन्द्रका अनुसार, यस वर्ष मुस्ताङबाट च्याङग्रा धेरै र भेडा थोरै निकासी भएको छ। यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेले उत्पादन गरेका भेडाच्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका थिए।

गत वर्षको तुलनामा मुस्ताङमै प्रति च्यांग्रा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन्। जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरीद गरेका काठमाडौंका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रति च्यांग्रा ५ देखि १० हजारसम्म बढी तिर्नुपरेको बताए।

अघिल्लो वर्ष प्रति च्यांग्रा २५ हजारसम्ममा खरी भएको थियो। यो वर्ष ३५ हजारसम्म परेको उनले बताए। मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए। उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राको माग बढ्ने गरेको छ। च्याङग्रालाई मासु खाने अवस्थाको हुने गरी हुर्काउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ।

मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए। (रासस)
थप सामग्री : https://www.himalkhabar.com/news/126454

प्रकाशित मिति: ०६:४३ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्