भाइटीकामा पनि वागमती सफाइ निरन्तर
तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वागमती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरे ।
काठमाडौं, कात्तिक २० : तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वागमती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरे ।
५ जेठ ०७० देखि सुरु भएको वागमती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माणाधीन छन् । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ साताको सफाइ गरेको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सदस्य डा. माला खरेलले बताइन् ।
सफाइबाट जम्मा गरिएको फोहोर समितिको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने जनाइएको छ । शनिबार तिहारको भाइटीका परे पनि सफाइमा सयभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।
महाअभियान सुरु भएपछि काठमाडौं उपत्यकामा वागमतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौं उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि वागमतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्येश्वरीमाथिको वागमती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौं उपत्यकाबाहिर हाल एक सय आठ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी जागरण ल्याए पनि स्थानीय सरकारहरूले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ । रासस











