अमेरिकी प्रतिवेदनको दृढतापूर्वक विरोध : चिनियाँ रक्षा प्रवक्ता
चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै दृढतापूर्वक विरोध गरेका छन् ।
बेइजिङ, कात्तिक २० : चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै दृढतापूर्वक विरोध गरेका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको छ र पूर्वाग्रहग्रस्त छ ।
उनका अनुसार प्रतिवेदनले तथाकथित चिनियाँ सैन्य खतराबारे तथ्यहीन टिप्पणी गरेको छ र चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको छ । यसैगरी, ताइवान र अन्य मुद्दाहरू समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ, जसलाई चीनले गम्भीर रूपमा लिएको छ ।
प्रवक्ता वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको बताए । उनले भने, ‘यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा छैन ।’
अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत भएको उनको आरोप छ । वुले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अंग भएको दोहो¥याए ।
ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवान स्वतन्त्रता खोज्ने विदेशी समर्थनका कारण भएको उनको भनाइ छ । चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्क्याउने कुनै प्रयास पिपुल्स लिबरेसन आर्मीको पर्खाल अघिल्तिर असफल हुने निश्चित रहेको वुले बताए ।











