बालगृहमा सामूहिक भाइटीका
बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका लगाएका छन् ।
म्याग्दी, कात्तिक २० : बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका लगाएका छन् ।
नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाले आपसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन् । अस्टे«लियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एन्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका आयोजना गरेको हो ।
बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।
नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजा सामग्री, मिठाइलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एन्ड लभ संस्थामा आवद्ध चेलीहरूलाई धन्यवाद दिए ।











