काभ्रेमा कोभिड प्रभावित पाँच हजारभन्दा बढी परिवारलाई राहत
सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।
काभ्रे, कात्तिक २० : सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।
१० हजार रुपैयाँका दरले उनीहरूलाई राहत वितरण गरिएको हो । स्थानीय तहहरूले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरेका हुन् । विशेषगरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण प्रभावित अतिविपन्न, असहाय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको छ ।
सरकारले प्रतिस्थापन बजेटमा घोषणा गरेअनुसार हालै उक्त शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित गरिसकेको छ । सोहीअनुसार देशभरका करिब पाँच लाख अति विपन्न परिवारसँगै काभ्रेका पाँच हजार ३०३ परिवारलाई राहत वितरण गरिएको हो ।
जिल्लाका ६ नगरपालिका र सात गाउँपालिकामा उक्त राहत वितरण गरिने गत मंगलबार प्रकाशित राजपत्रमा उल्लेख छ । बनेपाका ५०९, धुलिखेलका ३३५, पनौतीका ४१७, पाँचखाल ४७१, नमोबुद्ध ४८४ र मण्डनदेउपुरका ५८७ तथा चौंरीदेउराली गाउँपालिकाका ४८२, भुम्लुका ४०७, तेमाल ४२२, बेथानचोक २४०, रोशी ४५०, महाभारत २८८ र खानीखोला गाउँपालिकाको २११ परिवारलाई राहत वितरण गरिएको छ ।











