मिथिलामा भैयादुजको रौनक
मिथिला क्षेत्रमा शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावलीको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।
महोत्तरी, कात्तिक २० : मिथिला क्षेत्रमा शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावलीको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।
भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ ।
यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै देखिन्छ । अघि सत्ययुगमा राजा बलिका बहिनी गंगा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरंगी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् ।
भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन् । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर आएपछि दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइलाई बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरंगी टीका लगाइदिन्छन् ।
यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गंगा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको पनि होस् भन्दै गीतबाट भाव व्यक्त गर्छन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा. विमलको भनाइ छ । बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उनी बताउँछन् । यो विधि सकिएपछि दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राख्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।











