नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल
रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् ।
महोत्तरी, कात्तिक १९ : रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् ।
महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा. रिजालले इमानदारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।
‘राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन,’ उनले भने, ‘नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।’ सरकार सेनालाई अझ समयानुकुल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा. रिजालको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा कांग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको बताए । उनले यो जिम्मेवारी निर्वाहका लागि कांग्रेस एकजुट हुन र दललाई मुख्य केन्द्रमा राखेर काममा जुट्न कार्यकर्तासँग अपिल गरे ।
भेटघाटकै क्रममा कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिँदै डा. रिजालले सैद्धान्तिक रूपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठिरहे पनि व्यावहारिक हिसाबमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख गरे ।











